नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । आज (बुधबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेले झापाका देवराज घिमिरेलाई उम्मेदवार बनाएको हो । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् ।
घिमिरे गत मंसिरमा भएको निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची बुधबार नै दिउँसो ४.१५ बजे प्रकाशित गरिने छ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ ।सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।