नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले गठबन्धन सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि आफ्नो कार्यक्षेत्र भित्र गर्नुपर्ने प्राथमिकता प्राप्त कामहरूको सूची मन्त्रिपरिषद्मा पेश गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुका साथै सरकारले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ ।
बैठकले विभुषणको स्पष्ट मापदण्ड तय गर्न समिति बनाउने निष्कर्ष निकालेको हो । यस्तै बैठकले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय
विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने निर्णय
मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय
ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय
सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गर्ने निर्णय
मन्त्रिपरिषद्मा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय
उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय