प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित, कति मत पाए ?

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । आज (बिहीबार) भएको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार एमालेका सांसद घिमिरे निर्वाचित भएका हुन् ।

उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । एमालेका सांसद घिमिरे १६७ मतसहित विजयी भएका हुन् । सभामुखमा सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मत परेको छ ।



प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेले प्राप्त गरेको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भएको घोषणा गरेका हुन् । घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

घिमिरेको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले मतदान गरेका थिए । घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् ।

 

सम्बन्धित समाचार