मृत्युपश्चात् शरीरका सम्पूर्ण अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

स्वास्थ्यमन्त्रीद्वारा पनि अंगदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । आज (शुक्रबार) शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डले अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने बताए । ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ’ प्रधानमन्त्रीले भने । नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ।



‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ ।’

‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ’ प्रधानमन्त्रीले भने । मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि केन्द्रले भूमिका खेलको भन्दै प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे । प्रधानमन्त्रीले त्यसका लागि केन्द्रलाई धन्यवाद दिए ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पनि मृत्युपश्चात आफ्ना अंग दान गर्ने घोषणा गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे ।

सम्बन्धित समाचार