नवकान्तिपुर संवाददाता
काठमाडौं
प्रतिनिधिसभाका उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (शनिबार) संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १ बजेदेखि मतदान हुने जनाएको छ ।
सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि प्रतिस्पर्धामा रहेका छन् । रानाको प्रस्तावकमा रास्वपाकै सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
त्यस्तै यादवको प्रस्तावकमा कांग्रेसका नेता बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । आजको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने र मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको गत माघ ५ गतेको बैठकले माघ ७ गते उसभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । यसअघि माघ ५ गते भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए ।