रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा मा एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ७९ औं मिनेटमा रियल मड्रिडका रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।



अतिरिक्त समयको १०४ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३-१ को जित दिलाए । त्यसअघि खेलको ९९ औं मिनेटमा एट्लेटिको मड्रिडका स्टेफन साभिचले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

त्यसैगरी कोपा डेल रे फुटबल अन्तर्गत नै भएको अर्को क्वाटरफाइनल खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै एट्लेटिक बिल्बाओले पनि अन्तिम चारमा पुगेको छ ।

 

सम्बन्धित समाचार