नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।
रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार ) सर्वोच्च अदालतको फैसलापछि उनले राजीनामा दिएका हुन् ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो । लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको थियो ।