नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिमा अर्याललाई चयन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताए । त्यस्तै उनले कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्ने बताए ।
पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ ।