नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
आत्मदाह गरेका स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पढाइदिने घोषणा गरेका छन् । शनिबार स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै उनले यस्तो बताएका हुन् ।
भेटमा पूर्वमन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए । ‘स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, पूर्वमन्त्री बस्नेतले भने ।
आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान मृत्यु भएको थियो ।