नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
रवि लामिछानेले नागरिकता लिएका छन् । आज (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
नागरिकता प्रमाणपत्रको लागि चाहिने सम्पूर्ण कागजात सहित उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका थिए । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेका भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद बदर गरिदिएको थियो ।
सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको हो । नागरिकता नियमावली २०६३ को दफा ११ मा पुन: नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको जानकारी दिए ।
यसअघि लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन गएका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो ।