नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको बताएका हुन् । त्यस्तै उनले गृह मन्त्रालयमा पार्टीकै दाबी रहेको दाबी गरे ।
‘पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ’ प्रवक्ता ढकालले भने ।
गृह मन्त्रालयको विषयमा सभापति लामिछानेले गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए । यस्तै लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उनले बताए ।
आइतबारै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानूनबमोजिम पुनः नागरिकता प्राप्त गरेका थिए । उनले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुुझाएका छन् ।