नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहनीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता भएको हो ।
बालेन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगका हुन् । भेटमा काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।
त्यस्तै भेटमा काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौँका मेयर बालेनले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।अहिले बालेनको चौतर्फी आलोचना भइरहेको छ । आइतबार काठमाडौँको माइतीघरमा बालेनले गैरकानुनीरूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका थिए ।
कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययनबिनाको कामपाको योजना र विकल्पबिनाको योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेको थियो । उनीमाथि गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप छ ।