नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । आज (सोमबार) शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरे । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताए । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।