नेपाल क्रिकेट संघद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिकलाई बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

उनलाई नाबालिक बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले २३ भदौमा उनलाई निलम्बन गरेको थियो । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।



तर लामिछानेलाई उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएपछि उनी २९ पुसमा रिहा भएका थिए । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई अफ्हुलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यसपछि सन्दीपविरुद्ध भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । यद्यपि सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । निलम्बन फुकुवा गरेसँगै अब सन्दीपले राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न पाउने छन् ।

तर उनीविरुद्ध सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ।महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।

 

सम्बन्धित समाचार