नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ जना र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ६९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार १०५ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३० जना पुगेको छ ।