सन्दीप राष्ट्रिय टिममा समावेश, दोस्रो चरणमा २० सदस्सीय टोलीको घोषणा (सूचीसहित)

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट क्रिकेटर तथा पूर्व कप्तान सन्दीप लामिछाने खेल्ने भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेपछि उनी नेपाली राष्ट्रिय टिममा समावेश भएका हुन् ।

बिहीबार नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको जानकारी दिएको हो । यसअघि बुधबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।



क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीप टिमलाई आवश्यक परेको हुनाले राष्ट्रिय क्रिकेट टिममा समावेश भएको बताए । त्यस्तै क्यानले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीसहित २० सदस्यीय टोलीको घोषणा गरेको छ ।

दोस्रो चरणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भिम शार्की, कमल सिंह ऐरी किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी,अर्जुन साउद र प्रतिश जिसी रहेका छन् ।

नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । नेनेपालले पहिलो खेल फेब्रुअरी १४ मा नामिबियासँग, दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २४ खेलमा १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार