सन्दीप भट्टराई
काठमाडौं, २३ माघ ।
अन्तत: सरकारमा सहभागी भएको ४२ औं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रालय रास्वपालाई नदिने घोषणा गरेसँगै रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । आइतबार पार्टी कार्यालय, बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको बैठकपछि सभापति लामिछानेले बताए ।
बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय पनि गरेको थियो । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आइतबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । रास्वपाले सरकारबाट बाहिरिए सँगै १० पुसमा बनेको सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ ।
गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको रास्वपालाई गत शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालयबाहेक अन्य मन्त्रालय लिन प्रस्ताव गरेका थिए । त्यस विषयमा निर्णय लिन शनिबार रास्वपाको आकस्मिक बैठक बसेको थियो । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर शनिबार बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि रास्वपाको बैठक आइतबारको लागि सारिएको थियो ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहरिएर उपपधान तथा गृहमन्त्रीको पद गुमेपछि सो पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीको भागमा आउनुपर्ने माग राख्दैआएको थियो । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता पुनः लिएका सभापति लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई पटक पटक भेटे पनि प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए । ११ पुसमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए ।
तर सर्वोच्च अदालतले नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद पद खारेज गर्यो । सांसद पद खारेज खारेजपछि उनले मन्त्री पदसहित प्रतिनिधिसभा सदस्य र पार्टीको सभापति पद पनि गुमाए ।
सरकारबाट बाहिरिनु अघि प्रचण्ड र रविको भेट
आइतबार सरकारबाट बाहिरिने निर्णय गर्नु अघि रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । भेटमा प्रचण्डले तत्काल गृहमन्त्री उनलाई दिन नसकिने बताएका थिए । त्यसपछि रवि बालुवाटारबाट फर्किएपछि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर सरकारलाई समर्थन गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नहुने भन्दै आएका थिए । गृहमन्त्री पद रिक्त भएपछि प्रचण्डले उक्त मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।
रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया
प्रधानमन्त्री दाहालले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘राष्ट्रिय सहमति नै गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो’, उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो । उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’
सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
पदको लोभ भएर होइन कामका लागि जान्छु
रास्वपाका सभापति लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताए । उनले भने, ‘गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२र१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन, कामका लागि जान्छु ।’
पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीति चाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।’
त्यस्तै उनले नेपालमा नाम चलेका मिडियाले आफ्नो खेदो खनेको भन्दै मिडिया सञ्चालकहरूलाई अब देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका छन् । ‘मिडिया मालिकले मिडिया चलाउने र राजनीतिज्ञले देश चलाउने हो’ उनले भने ।
रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामा
सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । आइतबार प्रधानमन्त्री निवास पुगेर रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
रास्वपाको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्की राजीनामा बुझाएका हुन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए ।
यसकारण प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री पद रास्वपा सभिपति लामिछानेलाई नदिँदै उक्त पदमा आफूले बाजी मारेका छन् । रिक्त भएको गृहमन्त्रालय प्रचण्ड आफैंले सम्हालेका छन् । जसको कारण गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरिन बाध्य भयो । र, गृहमन्त्री रविलाई नदिने चाहना प्रचण्डको पूरा भयो ।