भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

नेपाल बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चिर प्रतिद्वन्दी भारतलाई ३-१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाललाई जित दिलाउन अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले समान १-१ गोल गरे भने भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई पराजित गरेको हो ।



खेलको २१औँ मिनेटमा अपूर्णाले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेको थियो । खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यस्तै खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् ।

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

त्यसपछि खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले गोल गर्दै नेपाललाई ३-१ को सहज जित दिलाइन् । जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ भने ३ खेलमा ४ अंक जोडेको भारत बाहिरिएको छ । अब फाइनलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानलाई ५-० ले पराजित गरेसँगै बंगलादेशले उपाधि भिडन्त नेपालसँग पक्का गरेको हो ।

बंगलादेश ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो भने अंक विहिन भुटान भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी रहेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

सम्बन्धित समाचार