साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता

बंगलादेश ३-० ले विजयी

साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामा सिमित भएको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ३-० ले पराजित भएसँगै नेपालको उपाधि जित्ने सपना अधुरै रहेको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा बंगलादेशलाई उपाधि दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान १-१ गोल गरे । खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।



त्यस्तै पहिलो हाफको इन्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा बंगलादेशले थप एक गोल गरेको थियो । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाइन् ।

राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यस्तै नेपालले भुटानलाई ४-० र भारतलाई ३-१ ले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबरी खेलेको बंगलादेशले भुटानलाई भने ५-० को फराकिलो अन्तरले हराएको थियो ।

सम्बन्धित समाचार