नामिबियाबिरुद्ध नेपालको कीर्तिमानी जित, कुशलको शतकीय पारी

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो । उसका लागि माइकल भान लिङ्गेनले १३३ रनको शतकीय पारी खेले भने गेरहार्ड इरसमसलर ५६ रनको अर्धशतकीय इनिङ्ग्स खेले। त्यस्तै जेन ग्रीन ३४ रन बनाई आउट भए भने जान फ्राईलिंक र कार्ल ब्रिकेनस्टकले समान १३-१३ रन जोडे ।



नेपालका लागि करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कमी र कुशल मल्लको भागमा समान १-१ विकेट रह्यो । २८६ रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालको लागि जितमा कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको मद्दतमा ११५ रनको कीर्तिमानी शतकीय पारी खेले भने कप्तान रोहित कुमार पौडेलले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । भुर्तेल र पौडलले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरेका थिए ।

एकदिवसीय खेलमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र सिंह ऐरी र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्युगिनीविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । त्यस्तै सन्दीप जोरा २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे भने ज्ञानेन्द्र मल्लले २५ रन बनाउँदा करण केसी २० रनमा अविजित रहे । नामिबियाका लागु रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३-३ विकेट लिए ।

एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो । यस अघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । अब नेपालले दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाल २५ खेलमा २० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३१ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार