नेपाल र भारतले बराबरी खेले

नेपाल र भारतबीचको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बुधबार राति भएको खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली  घरेलु टोली भारतलाई २-२ को बराबरीमा रोकेको हो ।

भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको निकै रोमान्चक खेलमा नेपालले दुई गोलको अग्रता उल्टाएर भारतसँग बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।



त्यस्तै खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाईन् । तर, खेलको ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् । भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा सावित्राले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा सकाईन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आगामी शनिबार हुनेछ ।

सम्बन्धित समाचार