नेपालद्वारा स्कटल्याण्ड पराजित, दीपेन्द्र र कुशलको अर्धशतकीय पारी

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो ।

टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले अविजित रहँदै १०७ रनको शतकीय पारी खेले भने ज्याक जार्भिर्सले २६ रन बनाए । त्यस्तै क्रिस्टोफर म्याकबिड र ब्रानडन म्याकमुलेनले समान २२-२२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट विकेट लिए भने कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, दीपेन्द्र सिंह ऎरी र कुशल भुर्तेलको भागमा समान १-१ विकेट रह्यो । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ ।



२७५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ११६ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित रहँदै ८५ रनको अर्धशतकीय पारी खेले भने कुशल मल्लले पनि ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय इनिङ खेले ।

खराब सुरुआत गरेको नेपालको इनिङ दीपेन्द्र र कुशलले उकासेका थिए । नेपाल ७७-५ को स्थितिमा रहँदा छैटौं विकेटका लागि यी दुई खेलाडीले १०० रनको साझेदारी गरेका थिए । छैटौं विकेटका लागि एकदिवसीय खेलमा नेपालको यो दोस्रो शतकीय साझेदारी हो । यसअघि गत जुनमा लिग -२ मै अमेरिकाविरुद्धको खेलमा आरिफ सेख र सोमपाल कामीले १०६ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै सोमपाल कामी २४ रनमा अविजित रहँदा, गुलसन झाले १७, कुशल भुर्तेलले १६ र आसिफ शेखले  ९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ६ रन बनाई आउट भए भने ज्ञानेन्द्र मल्लले ४ रन जोडे । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३-३ विकेट लिए । स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो ।

अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध फेब्रुअरी १८ मा र चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल २६ खेलमा २२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३४ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार