नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

आशिफ, ज्ञानेन्द्र र कुशल मल्लको अर्धशतकीय पारी

काठमाडौँमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो जित हात परेको छ । आज(शनिबार) भएको खेलमा नेपालले नामिबियालाई विकेटले पराजित गरेको हो ।

यसअघि टियु मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । उसका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय पारी खेले भने पीकीं या फ्रान्सले ४९ रन बनाए । त्यस्तै लोहार्ड लौरेन्सले ४१ रन बनाई आउट भए भने माईकल भान २२ रनमा जोडे ।



यस्तै कार्ल ब्रिकस्टकले २० र कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५-१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीको भागमा १ विकेट रह्यो । नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

२७५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले। उनिहरुल्र क्रमश: ८१, ६५ र ६२ रन बनाए । त्यस्तै रोहित पौडेल ३९ रन बनाई आउट भए ।

नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १३९ रनको साझेदारी गरे । यी दुई खेलाडीको साझेदारी नेपालको एकदिवसीय अन्तराष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि जारी सिरिजमा नै गत मंगलबार नै कुशल भुर्तेल र रोहित कुमार पौडेलले नामिबियाविरुद्धकै खेलमा तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिए ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग २ विकेटले पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग दोस्रो खेल १० विकेटको फराकिलो अन्तरले हारेको थियो ।

अब नेपालले चौथों तथा अन्तिम खेल फेब्रुअरी २१ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल २७ खेलमा २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३३ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार