कृष्ण सादगी
अमेरिका, भर्जिनिया, ७ फागुन ।
कवि हैन म
पीडा लेख्ने गर्छु,
कविता हैन यो
प्रेम र भडाँस पोख्ने गर्छु ।
आफैंलाई भुलेर हरेक पल
जब–
स्वदेशको मायामा
डुबिरहन्छु,
प्रिय साथी र शुभचिन्तकहरू
निरन्तर सचेत गराइरहन्थे–
‘यस्तो एकोहोरिएर प्रेम नगर’ भनेर !
आजभोलि सत्यबोध हुँदैछ
मेरो यस प्रेमको अस्तित्व रहेनछ !
यसरी एकोहोरो प्रेममा डुबिरहनु
फगत् एउटा नशा रहेछ !
नशा–
राम्रो या नराम्रो जे भए पनि
त्यो दुवै खराब हुने रहेछ ।
बल्ल थाहा पाउँदैछु
यो नशामा डुबिसकेको पनि
बर्षौंंबर्ष बितिसकेछ !
आत्मदाह गरेर–
जिउँदै प्रेमहरू जलिरहेछन्
मातृभूमिका मुलीहरू
अझै पनि गम्भीर छैनन्
निरन्तर घटिरहने यस्ता घटनाहरूले
मन मुटु र मष्तिष्कलाई
हल्लाइरहन्छन्,
खै सरकार नामक संस्था कहाँ छ ?
असीमित दुःख–दर्द र पीडाका पहाडले
नागरिकहरूलाई
निरन्तर थिचिरहँदा पनि
सरकार भन्ने तत्वलाई
कतै अलिकति पनि दुखेको जस्तो
अनुभूति पाउँदिन म ।
पवित्र प्रेमलाई
विवाहमा बदल्न खोज्ने
नवराज बिकहरू
लखेटिइन्छन्, मारिइन्छन्,
उनीहरूले न्याय नपाइरहँदा
मेरो हृदय भतभत
पोलिरहन्छ ।
अझै पनि भिखारी भएर (!)
सार्वभौम नागरिकले
अझै कतिन्जेलसम्म
न्यायको भीख मागिरहनु पर्ने ?!
न्यायमूर्ति न्यायधीशहरू
अन्तैबाट संरक्षित संगठित भई
न्यायका नौ सिङ्ग समातेर
लोकलज्जा सबै बिर्सिदिन्छन्,
पुलिस होस् वा प्रशासन
अर्थ व्यवस्था र राज्य प्रणाली
लबस्तरो थेत्तरो हुँदै गएको छ
न्याय नपाई छटपट्टिइरहेकी
निर्मला पन्त र सपना विकहरू
अझै पनि
धुरूधुरू रोइरहेको देख्छु
फेरि त्यस्तो निर्दयी सरकारको
व्यर्थै किन चिन्ता लिइरहेको छु म ?
अशिक्षा र गरिबीमा पिल्सिएका
सर्वसाधारण मानिसहरू
निर्दोष, निरीह र बबुरा छन्
पावर, पैसा र पहुँच नभएर
आधारभूत गाँस, बास, कपासलाई
अझै पनि तड्िपरहेकै छन्
निर्धोलाई न न्याय मिल्छ
न बाँच्न पाउने आधार !
आफ्नै नागरिकलाई
अनागरिक बनाउन
षडयन्त्र गर्छ सरकार !
फेरि तिनै दुष्टहरूकै
किन पढिरहन्छु समाचार म ?
नियालेर रातदिन
लाज–शरम हराएका
तिनै भोका ब्वाँसाहरूका गतिविधि
किन खेर फलिरहेछु– मेरो
अमूल्य समय !
अन्याय, अत्याचार विभेद र व्याभिचार
सहन, देख्न नसकेर,
भागिरहेछु म ।
फेरि पनि यस्तो निर्दयी सरकारको
व्यर्थै किन चिन्ता लिइरहेछु म !
वर्षभरि दुःख गरीगरी
अन्न उब्जाउने किसानहरू
बिचौलिया दलालसँग हारेर
निरीह, निराश र बेचैन देखिन्छन्
कसरी सहेर बस्नु–
भ्रष्ट र माफियाहरूको रजगज ?
यस्तै सत्य र तथ्यहरूको बोध भएर पनि
सधैं यसरी–
निःशब्द भई साक्षी बन्ने बाध्यताले
तनावग्रस्त बनिरहन्छु म ।
देश लुट्नेहरू संगठित भएर
अझ ठूला ठूला स्वरहरूले
हामीलाई भगौडा भनिरहेछन्,
माफिया दलालका एजेन्टहरू
दले कर्जेकर्ता बनेका छन्,
मुठीभर मठाधीशहरूको
मनमौजी फर्मान चल्छ देशमा ।
सीमित स्वार्थ समूहको चलखेलले
वर्षौंको सङ्घर्षबाट प्राप्त
लोकतन्त्र–
फगत् संविधानका अक्षरमा मात्र
सीमित बन्दैछ ।
आफू बाँचुञ्जेल कहिल्यै नमर्ने
मातृभूमिप्रतिको अटल माया र ममता
मुटुभरी साँच्नेहरू
वाक्क दिक्क भएर
आफ्नै श्रम र पसिनामा बाँच्ने
सहाराको खोजीमा भौंतारिएकाहरूको
इमान, निष्ठा र सोझोपनलाई
भगौडा र पलायनवादी भन्दै
अझै धेरै नजिस्क्याऊ तिमीहरू !
शिरमा कफन बाँधेर
नागरिक अधिकारका लागि
४६-४७ र ६२-६३ मा
सडक सङ्घर्षमा होमिएका हामीहरू
व्यवस्था फेर्न सफल भएकै हौं,
तर पनि
अवस्थामा कुनै परिवर्तन नभएको देख्दा
र,
पुरानाको आशनमा बसेर नयाँहरूले पनि
नेपाल आमालाई
त्यसरी नै लुटिरहेको देख्दा
लाग्छ–
धन्न शहीद भइएनछ !
लुट्न पल्किएका मठाधीशहरू र
ब्वाँसा जस्ता चुत्था शासकहरूप्रति
आम मानिसहरूमा
असीम घृणाभाव उम्लिरहेको बेला
धेरै टाढाको भूगोलबाट
रमिते हुनु हाम्रोे बाध्यता होला,
तर पनि
मन, मुटु, मस्तिष्क र विचारलाई
दुष्टहरूका काला कर्तुतहरूले
हरबखत चिमोटिरहँदा
अझै पनि परिवर्तन विरोधीहरूसँग
परिवर्तनको नयाँ ज्वारभाटा बनेर
एउटा अन्तिम लडाइँ लड्न
स्वदेश फर्किने मन छ,
मुलुकको अवस्था परिवर्तन गर्ने आशा
अझै शहीद भएको छैन ।
हे जननी जन्मभुमि !
तिम्रा वर्तमान रक्षकहरू नै
भक्षकको रूप धारण गरी, निरन्तर
– तिम्रो मान मर्दन गरिरहेछन्
– तिरस्कार र घृणा पस्किरहेछन्
– पत्थर रोपेर फूलको अपेक्षा गरिरहेछन्
द्रव्य लालची बनेर–
आफ्नो कर्तव्य भुलिरहेछन् ।
त्यसैले
भौगोलिक रूपमा टाढा रहेर पनि म
आजभोलि
अन्तरमनको सङ्घर्षमा छु ।
कसरी–
मातृभूमि लुट्नेहरूलाई चिन्न सकिएला,
वा पूर्ण बहिस्कार गर्न सकिएला,
अथवा
त्यति गर्न पनि सकिएन यदि भने–
नशा नशामा बहने स्वदेश प्रेमको मोहबाट
कसरी बाहिर निस्कन सकिएला ?!
गाली नै लजाउने गरी
कति गाली गरौं खै ?
चुपचाप बसिरहुँ,
त्यो पनि मनले मान्दैन ।
कोसिस नगरेको त होइन,
तर मौन बस्ने हजार प्रयासहरू
निराश र असफल हुँदैछन् ।
जननी,
भ्रष्टहरू ठेगान नलागुन्जेल
सहन बाध्य छ्यौ दुष्टका चोटहरू
तिमी पीडाले छटपटिरहेका अवस्थामा
तिम्रो माया मार्न कसरी सकौंला र म ?
यो एकोहोरो मायाबी नशाबाट
आफुलाई मुक्त गराउन
खै कसरी सकौंला र म ?
हाल अमेरिकाको भर्जिनिया