शीर्ष नेताहरूको दैनिकी : कामकुरा एकातिर, कुम्लो बोकी ….

मुलुकमा अनेक समस्याहरूका चाङ छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, उद्योग, सुरक्षालगायत जनताका प्रत्यक्ष सरोकार राख्ने अनेक क्षेत्रका तमाम् समस्याहरू समाधानका पर्खाइमा छन् । आर्थिक रूपमा मुलुक गम्भीर मोडमा पुगेको विज्ञहरू बताउँछन् । बजार आम उपभोक्ताको पहुँचभन्दा धेरै माथि पुगिसकेको छ । तर दलहरूका शीर्ष नेताहरूको दैनिकी हेर्दा भने लाग्छ– मुलुकमा रामराज्य छ । केहीँ कतै कुनै समस्या छैन । नागरिकहरू मग्नमस्त छन् । उनीहरूका लागि अहिलेको चिन्ताको विषय भनेको राष्ट्रपतिको जागिर कसलाई खुवाउने र चितवन–२ मा हुने उपनिर्वाचनमा रविलाई कसरी रोक्ने भन्ने मात्र हो ।

शीर्ष तहका नेताहरू तथा विज्ञहरू बसेर देशका समस्याहरूको प्राथमिकता निर्धारण गरेर समाधान गर्ने विषयमा, मुलुकलाई कसरी समृद्धशील बनाउन सकिएला भन्ने विषयमा, जनताका चासो र चिन्तालाई कसरी सम्बोधन गर्न सकिएला भन्ने विषयमा, संस्थान, निगम, प्राधिकरण तथा विश्वविद्यालयहरूमा हुने राजनैतिक हस्तक्षेपबाट कसरी मुक्त गर्ने भन्ने आदि विषयमा कहीँ कतै छलफल, गोष्ठी र बहस भएको सुनिँदैन । यो नै नेपालीहरूको दुर्भाग्य हो ।



विद्यार्थीले समयमा किताब पाउँदैनन्, परीक्षा भएको एक वर्षसम्म नतिजा आउँदैन, किसानले चाहिएको बेला मल पाउँदैन, तिर्खालुले पानी पाउँदैन, भोकाएकाले भोजन पाउँदैन, बेरोजगारले रोजगारी पाउँदैन अनि विदेश जान खोज्दा पासपोर्ट पाउँदैन । यसरी नागरिकहरू पीडैपीडामा छन् तर राष्ट्रपतिलाई भने अझै सम्मान पुगेको छैन, प्रधानमन्त्रीलाई भाग पुगेको छैन । यस्तो अवस्थामा सरकारलाई जनताको कथा–व्यथा सुन्ने र समाधान खोज्ने समय मिलेको छैन ।

नेताहरूलाई भोट चाहिएको छ तर समस्याको समाधान चाहिएको छैन । त्यसैले मञ्च पाउना साथ उनीहरू एकले अर्कोलाई उछित्तो काड्ने गरी व्यङ्ग्य गर्छन् । कसले कति व्यङ्ग्य गर्न सक्छ भनेर उनीहरूबीच व्यङ्ग्यमा प्रतिस्पर्धा हुन्छ तर जनताका समस्याका बारेमा चर्चासमेत हुँदैन । आफू पटक पटक कार्यकारी पदमा पुग्दा समेत केही गर्न नसक्नेहरू सत्ताबाट बाहिरिएपछि ठूलो राष्ट्रवादी भइटोपल्छन् । नागरिकले विश्वास गरिदिनु पर्ने । हामी नागरिक पनि उस्तै, तिनै निकम्मालाई मसिहा ठानिदिन्छौं ।

तर कथित मसिहासँग न भिजन देखियो, न इच्छा शक्ति नै । देशलाई समृद्ध बनाउने कुरा त भाषणमा मात्र सीमित देखियो । देशमा जताततै बेथिति र भ्रष्टाचार व्याप्त छ । अभाव छ, अत्याचार छ, बलात्कार छ, पीडा छ, कृत्रिम मूल्य वृद्धिको त्रासदी छ तर सरकारमा बसेकाहरू र पार्टीका शीर्षनेताहरू भने प्रेत बनिसकेका नीरो (रोमन) सँग बाँसुरी सापटी लिएर बेसुरको राग अलापिरहेछन् । अनि, देश र जनताका अनन्त समस्याहरूलाई बेवास्ता गर्दै आफ्नो मात्र दुनो सोझ्याउने दाउमा लागेका छन् । उनीहरूको राष्ट्रपति बन्दा कसलाई कति लाभ हुन्छ भनेर लेखाजोखा गरिरहेका छन् । जनता के चाहन्छन् भन्ने कसैलाई मतलबको कुरा भएन । यस्तो प्रवृत्ति देख्ता रोमनका तत्कालीन तानाशाह नीरोले रूप परिवर्तन गरी नेपाली नेताका रूपमा पुनर्जन्म लिएको आभास हुन्छ । रोग, भोक, अभाव, बेथिति भ्रष्टाचार र महङ्गीले देश जलिरहेछ, नीरोहरू भने बेसुरे बाँसुरी बजाइरहेछन् ।

सम्बन्धित समाचार