रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

स्कटल्याण्ड २ विकेटले पराजित

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्ड माथि स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।

जितसँगै नेपालले विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा लगातार चौंथो जित निकाल्दै सिरिज सिरिज क्लिन स्वीप गरेको हो । यसअघि टियु मैदान किर्तिपुरमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४६ ओभर १ बलमा अलआउट हुँदै २१२ रनमा समेटियो । उसका लागि जर्ज मुन्से ले ६० रनको अर्धशतकीय पारी खेले भने म्याथ्यु क्रसलर ४२ रन बनाए । त्यस्तै ब्रानडन म्याक्मुलन ३१ रन बनाई आउट भए भने कायल कोइटजर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रन जोडे । नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने करण केसी ले ३ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो ।



२१३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान रोहित पौडेलले १०१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा अविजित रहँदै ९५ रनको अर्धशतकीय पारी खेले भने करण केसी ३१ रनमा अविजित रहे । यस्तै ज्ञानेन्द्र मल्ल २१ रन बनाई आउट भए भने कुशल मल्लले १७, आसिफ शेखले १२ ,सन्दीप लामिछानेले ९, दीपेन्द्र सिंह ऐरीले ७, सोमपाल कामीले २, ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान १-१ रन जोडे ।

१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपालको इनिंग्स कप्तान रोहित र करणले नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो । स्कटल्याण्डका लागि मार्क वाटले ३ विकेट लिए भने क्रिस ग्रेभ्सले २ विकेट लिँदा सफियान सरिफ,माइकल लिस्क र ब्रेण्डन म्याकमुलनको भागमा समान १-१ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले र तेस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । विश्वकप लिग-२ को विजेता स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग-२ को सुखद अन्त्य गर्न चाहन्छ । तीन खेल बाँकी रहदै लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले ट्रफि हात पारेको छ ।

नेपाल २८ खेलमा २६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३६ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

सम्बन्धित समाचार