फुटको सङ्घारमा सत्ता गठबन्धन, पुरानै गठबन्धन ब्युँताउने तयारी

राष्ट्रपतिको निर्वाचनको विषयलाई सत्ता गठबन्धन फुटको सङ्घारमा पुगेको छ । राष्ट्रपति निर्वाचनको विषय पेचिलो बनेसँगै गठबन्धन फुटको सङ्घारमा पुगेको हो । यदि राजनीतिकमा ठूलो बदलाव नआए सत्ता गठबन्धन फुट्दै पुरानै पाँच दलीय ब्युँताउने प्रयास भइरहेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकाप माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पुरानै गठबन्धन ब्युँताउने सहमति भएको बालुवाटार स्रोतले बताएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कायमै राख्दै पुरानै गठबन्धन ब्युँताउने विषयमा सहमति भएको बालुवाटार स्रोतले बतायो । छलफल कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको हो ।



१० पुसमा टुटेको थियो पाँच दलीय गठबन्धन
गत १० पुसमा पाँच दलीय गठबन्धन टुटेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री बन्ने विषयमा आ-आफ्नै अडान राखेपछि पाँच दलीय गठबन्धन टुटेको थियो । नेकपा एमालेले प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई अघि सारेपछि गठबन्धन टुटेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वन्तन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा माने सहमति गर्दै सरकारलाई समर्थन गरेका थिए । चुनावको केही समयअघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो ।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता
बुधबार बिहान प्रधानमन्त्री निवासमा राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलमा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले हालको गठबन्धनलाई कायम राख्न जोड दिएका थिए । तर यस विषयमा प्रचण्डले असहमति जनाउँदै अब एमालेसँगको छलफल सकिएको भन्दै अब पुरानै गठबन्धनसँग छलफल गर्दै अगाडी बढ्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको प्रस्ताव राखेका थिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पाँचदलीय गठबन्धन ब्युँताउने सहमति
बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पुरानै गठबन्धन ब्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए । कांग्रेससँगको छलफलमा प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सँगै लिएर जानुपर्ने बताएका थिए।

छलफलमा कांग्रेस नेताहरूले पाँच दलीय गठबन्धनलाई फेरि ब्यूँताउनु पर्ने बताएका थिए । यसअघि प्रधानमन्त्रीलाई भेट्नु अघि सभापति देउवाले, नेकपा एकीकृत समाजवादी, लोसपा र जसपाका नेताहरुसँग भेट गरेका थिए ।

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव
बुधबार विहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरको नाममा सहमति जुटाउन प्रस्ताव लिएर देउवा निवास धुम्बाराही पुगेका थिए । लोसपा र कांग्रेसबीच करिब एक घण्टा छलफल भएको थियो ।

छलफलमा कांग्रेसको तर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अह्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगायतका नेताको सहभागिता रहेको थियो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, र नेकपा एकीकृत समाजवादीका नेताहरु पनि बुधबार धुम्बाराही पुगेका थिए । एकीकृत समाजवादीका नेताहरुलाई भेटेपछि कांग्रेस नेताहरु बालुवाटारमा गएका थिए ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ । त्यस्तै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

 

सम्बन्धित समाचार