अन्तत: सात दलीय सत्ता गठबन्धन टुट्यो, राष्ट्रपतिमा एमालेबाट नेम्वाङ र कांग्रेसबाट पौडेल उम्मेदवार

अन्तत: सात दलीय सत्ता गठबन्धन टुटेको छ । गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन ६१ दिनमै टुटेको हो । राष्ट्रपति निर्वाचनको विषय पेचिलो बनेसँगै गठबन्धन फुटको सङ्घारमा पुगेको थियो । सत्ता गठबन्धन फुटेसँगै पुरानै गठबन्धन ब्युँतिएको छ । यसअघि गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकाप माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पुरानै गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

गत फागुन १२ गते शुक्रबार बेलुका बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन फुटेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका थिए । बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रस्ताव गर्दै पुस १० मा बनेको गठबन्धन फुटेको बताएका थिए । गत पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।



यसरी ब्युँतियो पुरानै गठबन्धन
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेसँगै आठ दलीय गठबन्धन बनेको हो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, ‘आज(शुक्रबार) प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो, त्यसमा हामीले सहमति जनाएका छौँ ।’

बैठकपछि प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेता ज्वालाले भने, ‘आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ, सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।’

१० पुसमा टुटेको थियो पाँच दलीय गठबन्धन
गत १० पुसमा पाँच दलीय गठबन्धन टुटेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री बन्ने विषयमा आ-आफ्नै अडान राखेपछि पाँच दलीय गठबन्धन टुटेको थियो । नेकपा एमालेले प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई अघि सारेपछि गठबन्धन टुटेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वन्तन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा माने सहमति गर्दै सरकारलाई समर्थन गरेका थिए । चुनावको केही समयअघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो ।

यसरी बनेको थियो सात दलीय सत्ता गठबन्धन
गत पुस १० गते प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ । त्यस्तै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको थियो । त्यस क्रममा नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् भने आठ दलीयको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

शनिबार बसेको नेकपा (एमाले)को सचिवालय बैठकले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वर पुगेका थिए ।

इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल पार्टीको उपाध्यक्ष रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको थियो । पौडेललाई कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदको निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ता गराउन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभापति शेरबहादुर देउवालगायत नेताहरू नयाँ बानेश्वर पुगेका थिए ।

सरकारबाट बाहिरियो राप्रपा, समर्थन पनि फिर्ता लियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै पार्टीले सरकारलाई दिएको पनि समर्थन फिर्ता लिँदै सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

राप्रपाबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय
नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ’, उनले भने, ‘पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको समेत बताए ।

गत पुस १० गते नेकपा ९माओवादी केन्द्र०सहित सत्तारुढ दलसँगको छलफलमा एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । ‘हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्बाङलाई उम्मेदवार बनाएका छौँ’ उनले भने, ‘हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।’

सम्बन्धित समाचार