राजनीतिका चतुर खेलाडी मानिने ओलीलाई पनि प्रचण्डले मात खुवाइदिए

फागुन २५ गते हुने तय भएको राष्ट्रपतिको निर्वाचनका कारण मुलुकको राजनीतिक समीकरण बदलिएको छ । शेरबहादुर देउवाले पुष्पकमल दाहाललाई पहिलो चरणको प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि उनी बालकोट हानिएका थिए । ओलीसँगको मन्त्रणा र मौखिक सहमतिपछि प्रचण्ड नेकपा एमालेको कृपा प्राप्त गर्न सफल भए र एमालेको समर्थनमा प्रधानमन्त्री पनि बने । तर प्रधानमन्त्री भएको ४२ दिनमैं एमालेसँगको सहमति तोड्दै पुनः नेपाली काङ्गे्रससँगै जोडिन पुगे ।

नेपाली काङ्ग्रेससँग मिलेर अहिले आठ दलीय गठबन्धन निर्माण गरी काङ्ग्रेस पार्टीको तर्फबाट प्रस्तावित रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने खेलमा प्रचण्ड लागिपरेका छन् । पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने थियो । ओलीसँगको सहकार्य कम्फर्ट नहुने ठानी राष्ट्रपतिको निहुँमा नेकपा माओवादीले सत्ता समीकरण परिवर्तन गरेपछि अचानक एमाले एक्लिन पुग्यो । अवसरको फाइदा लिन जस्तोसुकै निर्णय लिन सक्ने तथा अस्थिर मनस्थितिका प्रचण्डले एमालेलाई पनि उपयोग मात्र गरेर हिँडेपछि केपी ओली पनि जिल्लिएका छन् । कसले कसलाई बढी उपयोग गर्ने भन्ने होडबाजीमा यस पटक प्रचण्डले बाजी मारेका छन् । अन्ततः ओली अहिले प्रचण्डको हातमा भएको हतियार र फूलको विभेद पनि छुट्याउन नसक्ने अवस्थामा पुगेका छन् ।



समीकरण बदलिएसँगै प्रधानमन्त्री प्रचण्डले एमालेका तर्फबाट परराष्ट्र मन्त्री बनेकी विमला राई पौडेलको जेनेभा भ्रमणलाई अन्तिम समयमा आएर रोकिदिए । मन्त्रिपरिषदले गरेको निर्णयलाई अन्तिम समयमा आएर प्रधानमन्त्रीले रोकेर पौडेलको ठाउँमा पूर्व कानुन मन्त्री गोविन्द वन्दीलाई पठाएपछि कूटनीति क्षेत्र पनि तरङ्गित बन्यो । एमालेले यसलाई प्रधानमन्त्री प्रचण्डले एमाले पार्टीलाई अपमान गरेको महसुस गर्यो र सरकारबाट बाहिरियो । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियोे । एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता गर्ने निर्णय गरेसँगै यसको प्रभाव केन्द्रदेखि प्रदेश सरकारसम्म पर्ने देखिन्छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका बेला प्रचण्डले देश र जनताले महसुस गर्ने गरी केही गरेर देखाउने अभिव्यक्ति दिएका भए पनि उनले त्यो अवसर गुमाए । जनताका लाखौं समस्याहरूलाई नजरअन्दाज गर्दै उनी जसरी पनि कुर्सीमा टाँसिइरहने खेलमा केन्द्रित रहे । यस पटक पनि उनी छलकपटबाट मुक्त हुन सकेनन् । नेपालको इतिहास पढ्ने विद्यार्थीका लागि भने प्रचण्ड एउटा अवसरवादी नेताका रूपमा चिनिने कुरामा दुईमत रहेन । सम्भवतः यो पनि एउटा उपलब्धि नै होला ।

 

सम्बन्धित समाचार