नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
छुट्टाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित सडकखण्डमा ज.६ प २२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सिराहा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने ६५ वर्षीया ईशरा देवीको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दार्चुला, महाकाली नगरपालिका-४ बाङगाबगरमा मधेश प्रदेश ०३ ००१ ज ०३४० नम्बरको जिप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार भारतीय नागरिक ६० वर्षीया काली देवी नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी घाइते भएका जीपमा सवार अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियामा भे.१३ प १७७० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकललमा सवार डुडुवा गाउँपालिका-२ बस्ने १८ वर्षीय राज कुमार माहुतको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।