एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा र पपुवा न्युगिनी(पीएनजी) विरूद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनी ११० बलमा दुई छक्का र १२ चौका को मद्दतमा ११० रन बनाउँदै आउट भएका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो ।



त्यस्तै कुशल भुर्तेलले ४५ र कप्तान रोहित पौडेलले ३० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार गर्दासम्म ४४ ओभरमा छ विकेटको गुमाउँदै २५४ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पीएनजीलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि घरेलु टोलीलाई हराउने योजनामा रहेको छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

आज पहिलो खेल खेलेको नेपालले दोस्रो खेल मार्च १२ (फागुन २८) मा यूएईसँग, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३२ खेलमा ३२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३२ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३२ खेलमा ९ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार