नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सिरहा, बरियारपट्टी गाउँपालिका-३ स्थित बिपिन इँटाभट्टामा काम गर्ने भारत उत्तर प्रदेश राज्य राय बरेली घर भएका ३२ वर्षीय श्रवण कुमार चमार सोही भट्टामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ अर्यालगाँउस्थित गलैंचा बुन्ने काम गरी बस्ने रामेछाप सुनापती गाउँपालिका-४ घर भएकी ३३ वर्षीया सम्झना तामाङ सोही गलैंचा बुन्ने ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन ।
यस्तै रूपन्देही, सैनामैना नगरपालिका-२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । टाउकोमा धारिलो वस्तु प्रहार गरी मृत्यु भएको अवस्थामा शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीसमेतबाट तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
यता चितवन, भरतपुर महानगरपालिका-२३ कसरास्थित चितवन राष्ट्रिय निकुन्जमा माउतेको काम गरी बस्ने नवलपरासी कावासोती नगरपालिका-१५ घर भएका ३७ वर्षीय सिखाराम महत्तो आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङ, सुन्दरहरैचा नगरपालिका-६ स्थित भर्जना बाधको पानीमा सोही नगरपालिका-७ बेलगछिया बस्ने ५४ वर्षीय जनका चौधरी मंगलबार मृत अवस्थामा फेला
परेका छन् ।
यसैगरी दोलखा, जिरी नगरपालिका-६ पाटीटार बस्ने ४० वर्षीय टेक जिरेल आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा स्वाटे जंगलको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट सोही नगरपालिका-७ मा हुने बिहेमा जान्छु भनि हिँडेकोमा बेलुकी अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।