पीएनजीमाथि नेपालको सानदार जित

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई पराजित गरेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव १ बलमा अल आउट हुँदै २९७ रन बनायो । नेपालको लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले ११० रनको शतकीय पारी खेले । पहिलो एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले ११० बलमा दुई छक्का र १२ चौका को मद्दतमा ११० रन बनाएका हुन् । त्यस्ता भिम शार्की ४४ रन बनाई आउट भए भने कुशल भुर्तेलले ४५ र कप्तान रोहित पौडेलले ३० रन जोडे । पीएनजीको लागि सेमो कामेयले ५ विकेट लिए भने रायले हेकुरेको भागमा ३ विकेट रहंदा अलेइ नाओले १ विकेट लिए ।



२९८ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजी ४७ दसमलव १ ओभरमा अलआउट हुँदै २४५ रनमा समेटिएको थियो । पीएनजीको लागि नर्मन भानुवा र टोनी उराले क्रमश: ६० र ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै असद भाला ४४ रन बनाई आउट भए भने किप्लिन डोरिगाले २६, राईले हेकुरेले २० र चार्ल्स अमिनीले १४ रन जोद्नुस बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा कुशल मल्लको भागमा १ विकेट रह्यो । जितसँगै नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गरेको छ । अब विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

अब नेपालले दोस्रो खेल मार्च १२ (फागुन २८) मा यूएईसँग, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३३ खेलमा ३४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३२ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३३ खेलमा ९ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार