नेपालद्वारा युएई सामू जितको लागि २४९ रनको लक्ष्य

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई जितको लागि २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ बलमा अल आउट हुँदै २४८ रन बनायो । नेपालको लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ४३ रन बनाए । त्यस्तै गुलसन झा ३७ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरीले ३४ र भिम शार्की २९ रन बनाउनु बाहेक अन्य दोहोरो अंक जोड्न सकेनन् । यूएईका आयन अफजल खान, रोहण मुस्तफा, जहुर खान र जवर फैदले समान २-२ विकेट लिंदा आर्यन लक्रा र जुनाइद सिद्धिकीको भागमा समान १-१ विकेट रह्यो ।



यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यूएई पनि घरेलु टोलीलाई हराउँदै सिरिजमा पहिलो जित आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।

पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने यूएई पीएनजीसँग ५६ रनले पराजित भएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

आज दोस्रो खेल खेल्न लागेको नेपालले, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल ३३ खेलमा ३४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने युएई ३३ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार