यूएईमाथि नेपालको सानदार जित, एकदिवसीय मान्यता कायमै

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आज (आइतबार) भएको खेलमा नेपालले यूएईमाथि सन्दर जित निकाल्दै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ बलमा अल आउट हुँदै २४८ रन बनायो । नेपालको लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ४३ रन बनाए । त्यस्तै गुलसन झा ३७ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरीले ३४ र भिम शार्की २९ रन बनाउनु बाहेक अन्य दोहोरो अंक जोड्न सकेनन् । यूएईका आयन अफजल खान, रोहण मुस्तफा, जहुर खान र जवर फैदले समान २-२ विकेट लिंदा आर्यन लक्रा र जुनाइद सिद्धिकीको भागमा समान १-१ विकेट रह्यो ।



२४९ रनको लक्ष्य लिएर मैदान उत्रेको युएई २२ दशमलव ५ ओभरमा ७१ रनमा समेटिएको । युएईका लागि आयन अफजल खाने २९ रन बनाए भने आश्वंत भाल्थ्पाले १४ र कार्तिक मेईयाप्पनली ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि ललित नारायण राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए  भने सन्दीप लामिछानेले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र गुलसन झाको भागमा समान १-१ विकेट रह्यो ।

एकदिवसीय खेलमा नेपालको यो जित अहिलेसम्मकै ठूलो अन्तरको जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिजमा लगातार दोस्रो जित निकालेको छ । यता यूएई भने जारी सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो भने यूएई पीएनजीसँग ५६ रनले पराजित भएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन अब नेपाललाई बाँकी रहेका दुई खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

अब नेपालले, तेस्रो खेल मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग र चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ । नेपाल ३४ खेलमा ३६ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लेको छ भने युएई ३४ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार