पीएनजीमाथि नेपालको सानदार जित

घरेलु मैदानमा जारीआईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएको थियो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए भने सेसे बाउ १८ रन जोडे । त्यस्तै चाल्स अमिनिले १६ र हिरि हिरिले १८ रन बनाउँनु बाहेक पीएनजीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन दिँदै ५ विकेट लिए भने ललित नारायण राजवंशी र कुशल मल्लले समान २-२ विकेट लिँदा सोमपाल कामीको भागमा १ विकेट रह्यो । जारी सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो ।

९६ रनको लक्ष्य मैदान उत्रेको नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको लागि ओपनर आसिफ शेखले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजित रहे । पीएनजीका लागि चाड सोपरले १ विकेट लिए । नेपालले अब विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेको यूएईसँगको खेलमा जित आफ्नो पक्षमा पार्नु पर्नेछ ।

नेपालले चौथो तथा अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ । नेपाल ३५ खेलमा ३८ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने युएई ३४ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । त्यस्तै ३५ खेलमा ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार