नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७-० ले पराजित गर्दै समग्रमा ८-१ को जित सहित म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यी दुई टोलीबीचको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले ५ गोल गरे भने इल्के गुन्डोगान र केभिन डी ब्रुएनले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको २२ औं मिनेटमा हालाण्डले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको २४ औं मिनेटमा हालाण्डले गोल गर्दै घरेलू टोलीको अग्रता दोब्बर बनाए ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा हालाण्डले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा म्यानचेस्टर सिटी ३-० ले अघि रह्यो । खेलको ४९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै म्यानचेस्टर सिटीलाई ४-० को अग्रता दिलाए । यस्तै व्यक्तिगत चौथों गोल गर्ने क्रममा खेलको ५३ औं मिनेटमा हालाण्डको गोल मार्फतम्यानचेस्टर सिटी ५-० ले अघि रह्यो ।
खेलको ५७ औं मिनेटमा हालाण्डले व्यक्तिगत पाँचौं गोल गर्दै म्यानचेस्टर सिटी ६-० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुएनले गोल गर्दा म्यानचेस्टर सिटीलाई ७-० को सानदार जित दिलाए ।