यूएईविरुद्ध नेपाल बलिङ गर्दै

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा नेपाल र यूएईबीचको खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म यूएईले १० ओभरमा १ विकेट गुमाउँदै ६१ रन बनाएको छ । नेपालका लागि ललित नारायण राजवंशीले १ विकेट लिएका छन् । यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ । यता यूएई पनि घरेलु टोलीलाई हराउँदै सिरिजमा दोस्रो जित आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।



पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईलाई १७७ रनले र तेस्रो खेलमा पुन: पीएनजीलाई ९ विकेटले पराजित गरेको थियो । यूएई भने पहिलो खेलमा पीएनजीसँग ५६ रनले दोस्रो खेलमा नेपालसँग १७७ रनले पराजित हुँदा तेस्रो खेलमा पीएनजीलाई ६ विकेटले हराएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

लिग टू मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ । आजको खेल जिते नेपाल शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो ।

 

 

सम्बन्धित समाचार