नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो ।यूएईका लागि असिफ खानले शतकीय पारी खेल्दै १०१ रनमा अविजित रहे भने भृत्य अरभिन्दर कप्तान मुहम्मद वासिमले अर्धशतकीय पारी खेल्दै क्रमश: ९४ र ६३ रन बनाए । नेपालको लागि दीपेन्द्र सिहना ऐरीले २ विकेट लिए भने ललित नारायण राजवंशीले, सन्दीप लामिछाने र सोमपाल कामीको भागमा समान १-१ विकेट रह्यो ।
यूएईलाई पराजित गर्दै नेपाल घरेलु सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ । यता यूएई पनि घरेलु टोलीलाई हराउँदै सिरिजमा दोस्रो जित आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईलाई १७७ रनले र तेस्रो खेलमा पुन: पीएनजीलाई ९ विकेटले पराजित गरेको थियो । यूएई भने पहिलो खेलमा पीएनजीसँग ५६ रनले दोस्रो खेलमा नेपालसँग १७७ रनले पराजित हुँदा तेस्रो खेलमा पीएनजीलाई ६ विकेटले हराएको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
लिग टू मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ । आजको खेल जिते नेपाल शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो ।