नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ चैत ।
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।