नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ चैत ।
घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो ।
नेपालको जितमालाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले समान एक-एक गोल गरे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ५६औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । त्यसपछि दुवै टोलीबाट गोल हुनसकेन र खेल नेपालले २-० ले आफ्नो पक्षमा पार्यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए ।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । अब लाओसले चैत ११ गते भुटानसँग र चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् ।