नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । आइतबार बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाल रसियासँग ३-० ले पराजित भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रसियाले तीन गोल गरेको थियो । रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिइन् ।
त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने करामा खेलको ७४औँ मिनेटमा एलिनाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३-० को सहज जित दिलाइन् । जितसँगै रसिया तीन खेलमा ९ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ३ खेलमा ३ अङ्क जोडेको नेपाल चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।