नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल २०२४ को एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल पराजित भएको छ । बुधबार राति भएको पहिलो खेलमानेपाल भियतनामसँग ५-१ को फराकिलो अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एकतर्फी खेलमा भियतनामलाई जित दिलाउन कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बीच थुए र एनगुएन थि नाले समान एक-एक एक गोल गरे । नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन् । खेलको ११औँ मिनेटमा एनगुएन थिबीच थुएको क्रसमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाइन् ।
त्यस्तै खेलको ३६औँ मिनेटमा भियतनामकी कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । यस्तै कप्तान न्हुकै प्रहारमा नेपालकी समीक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टी पाएको थियो । जसको सदुपयोग भियतनामकी कप्तानले गरिन् ।
यसैगरी खेलको ३८औँ मिनेटमा एनगुएन थि बिच थुएले गोल गर्दै पहिलो हाफमा भियतनाम ३-० ले अघि रह्यो । त्यस्तै खेलको दोस्रो हाफमा भियतनामले थप दुई गोल थप्यो । खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने कप्तान न्हुलेको गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाइन् ।
यता खेलको ७९औँ मिनेटमा सरु लिम्बूको पास नेपालकी सावित्राले एक गोल गरेपनि त्यो ढिलो भैसकेको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित सहज दिलाइन् ।
एसियाली छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीको मात्र सहभागिता रहेको हो । यस समूहमा शीर्ष स्थान हािसल गर्ने टोली दोस्रो चरणमा पुग्नेछन् ।