नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७४ औं स्थानमा रहेको हो ।
नेपाल यसअघिको वरीयतामा पनि १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०१ औं स्थानमा रहँदा माल्दिभ्स भने १५४ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८५ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा रहेका छन् ।
त्यस्तै नयाँ वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको छ भने दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा बेल्जियम र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । यस्तै छैटौंमा नेदरल्यान्ड्स, सातौंमा क्रोएसिया, आठौंमा इटाली, नवौंमा पोर्चुगल र दशौं स्थानमा स्पेन रहेका छन् ।