सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादको विषयमा यसो भने रवि लामिछानेले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् ।



‘पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ’ लामिछानेले भने । यसअघि आइतबारै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

श्रेष्ठलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन र श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । यद्यपि सांसद डा. श्रेष्ठले सो आवाज आफ्नो नभएको बताएका छन् । छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने/नगराउन निर्देशन दिँदै तत्कालका लागि निलम्बन गरिएको प्रवक्ता ढकालले बताए ।

यो पनि पढ्नुस –

दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपाद्वारा सांसद श्रेष्ठ निलम्बित

सम्बन्धित समाचार