चाणक्यको राष्ट्रप्रेम : एउटा हृदयस्पर्शी प्रेरक प्रसङ्ग

एक समय कुनै चिनियाँ कूटनीतिज्ञ आचार्य चाणक्यलाई भेट्न उनको कुटीमा पुगेछन् । चिनियाँ कूटनीतिज्ञलाई चाणक्यबाट व्यक्तिगत परामर्श चाहिएको थियो । उनी पुग्दा आचार्य चाणक्य बत्तीको उज्यालोमा केही लेख्दै थिए । कूटनीतिज्ञले आचार्य चाणक्यलाई अभिवादन गर्दै आसन ग्रहण गरे ।

कूटनीतिज्ञले चाणक्यका अगाडि दुईवटा कलात्मक बत्ती राखिएको देखे । त्यसमध्ये एउटालाई बालेर आचार्य केही लेख्ने काम गरिरहेका थिए भने अर्को नबालिएको अवस्थामा थियो ।



आचार्य चाणक्यले चिनियाँ कूटनीतिज्ञको शिष्टाचारको प्रत्युत्तर दिए र आचार्यले बलिरहेको बत्तीबाट अर्को बत्ती बाले र पहिलेदेखि बालिरहेको बत्ती निभाएर राखे । अनि पाहुनासँग गफ गर्न तयार भए ।

आचार्यको गतिविधिबाट आश्चर्यमा गरेका पाहुना चिनियाँ कूटनीतिज्ञले आचार्यलाई ‘पाहुना आउँदा एउटा बत्ती निभाएर अर्को बत्ती बाल्नुपर्ने प्रथा’ का बारेमा जिज्ञासा राखे ।

चाणक्यले विनम्र भावमा जवाफ दिए– यो कुनै प्रथा होइन महोदय ! तपाई आउँदा म राजकीय काममा व्यस्त थिएँ र राज्यकोषबाट किनेको तेल भएको बत्ती बालेर काम गरिरहेको थिएँ । अहिले तपाई मलाई व्यक्तिगत रूपमा भेट गर्न आउनुभयो । यस अवस्थामा मलाई राज्यकोषबाट किनेको तेल खर्च गरेर व्यक्तिगत परामर्श गर्न मन लागेन । यो अहिले बालेको बत्तीमा मेरो निजी खर्चले किनेको तेल हालेको छु । अतः मैले अर्को बत्ती निभाएको हुँ । यसमा आश्चर्य मान्नुपर्ने के छ र ?

आचार्य चाणक्यको इमानदारी र देशप्रतिको निष्ठा देखेर चिनियाँ कूटनीतिज्ञ नतमस्तक भए र श्रद्धा र सम्मानले आचार्यको पाउ स्पर्श गरे ।

सम्बन्धित समाचार