नयाँ वर्षले सबैलाई आ–आफ्नो कर्तव्य पालना गर्न उत्प्रेरित गर्न सकोस् !

नेपाली जनता गरिबीले भन्दा पनि नेताहरूको दरिद्र सोच र छुद्र व्यवहारका कारण प्रताडित छन् । नेपाली जनताको जीवनस्तर उकास्ने कुरा र मुलुकलाई समृद्ध बनाउने कुरा भोट माग्ने अस्त्र मात्र बन्न पुगे । प्राकृतिक बनोटका हिसाबले नेपाली भूगोल संसारकै उत्कृष्ट रहे पनि क्षमताहीन, बिकाउ र विवेक शून्य नेताहरूका कारण नेपाली जनता पीडित छन् । यो कुनै नेताविशेषलाई होच्याउन दिइएको कुण्ठापूर्ण अभिव्यक्ति होइन, तीतो भोगाइको नमिठो अभिव्यञ्जना मात्र हो ।

विद्वानहरू भन्ने गर्छन्– कृषि र पर्यटनको विकासले मात्र पनि नेपालको कायापलट हुन लामो समय लाग्दैन । नेपालको पानी, वनजङ्गल, जडीबुटी तथा भूगर्भमा रहेको खनिज पदार्थ आय–आर्जनका अन्य स्रोत बन्न सक्छन् । तर नेपाललाई समृद्ध बनाउने सवालमा आजसम्म यी क्षेत्रमा कुनै ठोस काम हुन सकेको छैन । दलका नेताहरूको त कुरै छोडौं, सरकारमा पुगेकाहरूले समेत आफ्नो दुनो सोझ्याउनेबाहेक केही गरेका छैनन् । केही गर्न खोज्नेहरूलाई पाखा लगाइएको छ । हरेक वर्ष सरकारले प्रस्तुत गर्ने बजेट भाषणमा उल्लेख गरिएका विकास पूर्वाधारका कामहरू समेत केवल कर्मकाण्डमा मात्र सीमित बनेका छन् ।



हिजो व्यवस्था निरङ्कुश थियो, जनताले तिरेको राजश्व दरबारले दुरुपयोग गर्थ्यो भनियो तर आज त जनताका छोरा छोरी राष्ट्रपति, प्रधानमन्त्री र देशको नीति निर्माण गर्ने ठाउँमा पुगेका छन् । काँग्रेस, एमाले, माओवादीले आलोपालो सत्ताको स्वाद लिइसकेका छन् । तर के उनीहरूले आम जनतालाई अनुभति हुने खालको परिवर्तनको अनुभव गराउन सके त ? के नेपाली जनताले गर्व गर्नलायक कुनै ठोस कार्य हुन सक्यो ?

अहिले व्यवस्था निरङ्कुश छैन, विकास विरोधी दरबार पनि छैन त्यसो भए नेपालको विकास र समृद्धि गर्न नेतृत्वलाई केले रोक्यो त ? नेतृत्व गर्नेहरूले चित्तबुझ्दो जवाफ दिनु पर्दैन ?

केवल गफकै लागि भए पनि विकास मोडेलको कुरा गर्दा नेताहरू नेपाललाई सिङ्गापुर बनाउने कुरा गर्दछन् । तर उनीहरूले बुझ्नु पर्छ सिङ्गापुर रातारात बनेको होइन र गफले मात्र नेपाल सिङ्गापुर बन्दैन । एउटा गरिब, विकासका पूर्वाधारसमेत केही नभएको सिङ्गापुर कसरी संसारकै समृद्धशाली र सुन्दर देश बन्न पुग्यो ? यस प्रसङ्गमा सिङ्गापुरको समृद्धिको यात्रालाई छोटकरीमा स्मरण गरौं ।

सन् १९६० (विसं २०१७) सम्म सिङ्गापुर बेलायतबाट शासित एउटा अति विपन्न राष्ट्र थियो । ७ सय १० दशमलव २ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो मुलुक सन् १९६५ (विसं २०२२) सम्म कुनै हिन्दी फिल्ममा देखाएने झोपडपट्टीको दृश्यभन्दा फरक थिएन । सन् १९६३ अगष्ट ३१ का दिन बेलायती उपनिवेशबाट स्वतन्त्र र स्वाधीन भए पनि आर्थिक, सामाजिक र राजनीतिक दुरावस्थाका कारण एउटा स्वतन्त्र मुलुकका रूपमा सिङ्गापुरले आफूलाई टिकाउन सकेन र तत्कालीन सिङ्गापुरका नेताहरूले सहमति गरेरै आफ्नो स्वतन्त्र देशलाई छिमेकी मुलुक मलेशियामा विलय गराउने निर्णय गरे । सिङ्गापुर मलेशियाको अभिन्न अङ्ग बनेर पनि लामो समयसम्म टिक्न सकेन । सन् १९६५ अगष्ट ९ तारिखका दिन सिङ्गापुर मलेशियाबाट अलग भयो र पुनः स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गर्यो ।

आफ्नो देश मलेसियाबाट अलग भएर एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र बन्दा पनि सिङ्गापुरका नेताहरू भने खुसी थिएनन् । किनभने उनीहरूका अगाडि चुनौतिका पहाडहरू थिए । त्यसबेला सिङ्गापुरका प्रधानमन्त्री ली क्वान यु थिए । उनले चुनौतिहरूका बीच पनि सिङ्गापुरलाई नयाँ ढङ्गबाट अगाडि बढाउने सङ्कल्प गरे र त्यसै अनुरूप आफू गतिशील भए ।

नयाँ सोचका साथ अगाडि बढ्ने क्रममा प्रधानमन्त्री ली क्वान युका मार्गमा प्रशस्त अवरोधहरू पनि आए, तर युको सुझबुझ र दूरदृष्टिका कारण सिङ्गापुरले नयाँ जीवन र नयाँ स्वरूप पाउँदै गयो । समयसँगै सिङ्गापुरको विकासले यसरी फड्को मार्यो कि मलेशियाबाट स्वतन्त्र हुँदा कङ्गाल अवस्थामा रहेको सिङ्गापुर भौतिक विकास र समृद्धिले मलेसियालाई उछिन्न पुग्यो । सिङ्गापुर अहिले संसारकै लागि विकासको रोलमोडेल बनेको छ, भू–स्वर्ग बनेको छ । सन् २०१९ को तथ्याङ्कको आधारमा त्यहाँ प्रतिव्यक्ति आय ६५ हजार ८३१ डलर रहेको छ । मलेसियाबाट स्वतन्त्र हुँदैगर्दा त्यहाँको प्रतिव्यक्ति आय ५०० डलरमात्र थियो ।

सक्षम नेता र नेतृत्वको पहिचान मुलुक सङ्कटमा परेकै बेला हुने हो र जनताको मन मुटुमा बस्ने पनि त्यस्तै नेताहरूले मात्र हो । ली क्वान युले आर्थिक, सामाजिक र राजनैतिक रूपले पिछडिएको मुलुकलाई संसारकै नमुना मुलुक बनाएर देखाइदिए । समृद्धिको सपना र त्यस सपनालाई पूरा गर्ने दृढ ईच्छाशक्ति नेताहरूमा हुने हो भने असम्भव केही छैन भन्ने कुराका लागि सिङ्गापुर एउटा सुन्दर उदाहरण हो ।

छोटै समयमा समृद्धिको शिखरमा पुगेका देशहरूमा मलेशिया अर्को उदाहरण हो भने मरुमूमि नै मरुभूमि भएर पनि भौतिक विकासले गगन चुमेका एशियाली अन्य देशहरूमा युएई, कतार, बहराइन आदि राम्रा उदाहरणहरू हुन् । नेपालसँग पनि प्राकृतिक रूपमा नै अनेकौं सम्भावनाहरू छन् तर ती सम्भावनाहरूलाई पहिचान गरेर समृद्धिको मार्गचित्र कोर्ने नेताहरूको भने अभाव रह्यो । अहिले नेतृत्व तहमा जो जो छन्, तिनीहरू त जनतालाई केवल फेस्रा सपना बाँडेर, ढाँट कुरा गरेर, राज्यको ढुकुटी दोहन गरेर मुलुकलाई हरिकङ्गाल बनाउने मात्र छन् । उनीहरूको दिमागमा विकास योजनाभन्दा गाली नै गालीको डङ्गुर मात्र छ । गालीको खेती गरेर मुलुक समृद्ध भएको उदाहरण हेर्न गुगल सर्च गर्दा पनि भेटिएन ।

नयाँ वर्ष २०८० हाम्रा घरआँगनमा आइगुगेको छ । आशा गरौं, नयाँ वर्ष क्यालेण्डर परिवर्तन गर्ने दिनका रूपमा मात्र सीमित नबनोस् । यस नववर्षले नेताहरूमा सद्बुद्धि र विवेक प्रदान गर्न सकोस् । लोकतन्त्र केहीका लागि लुटिखाने भाँडोमा सीमित नबनोस् । घात र प्रतिघातको अन्त्य भई स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना हुन सकोस् ।

अनि, विकास र समृद्धिका उदाहरण दिँदा ली क्वान यु वा महाथिर विन मोहमद आदिको होइन, नेपालकै कुनै नेतालाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकियोस् । बाटोमा कुनै नेतालाई भेट्दा औपचारिकताको लागि मात्र हात नउठोस्, घरघरमा उनीहरूको विशाल तस्वीर राखेर श्रद्धा र सम्मानले शिर झुकाउन मनलाग्ने अवस्था सिर्जना हुन सकोस् । नयाँ वर्षको सूर्यको पहिलो झुल्कोसँगै सबै नेपालीहरूको मनमा नयाँ आशा, नयाँ उमङ्ग र नयाँ विश्वास पल्लवित हुन सकोस् तथा सबैलाई आ–आफ्नो कर्तव्य पालना गर्न उत्प्रेरित गर्न सकोस्, सबैमा हार्दिक तथा मङ्गलमय शुभकामना !

 

 

 

सम्बन्धित समाचार