नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले र दोस्रो खेलमा राजस्थानले गुजरात टाईटन्सलाई ३ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो जित हो भने कोलकत्ताको तेस्रो हार । मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । कोलकत्ताका लागि वेंकटेस अय्यरले १०४ रनको शतकीय पारी खेले भने आन्द्रे रसेल २१ रनमा अविजित रहँदा रिंकु सिंहले १८ रन बनाए ।
मुम्बईका लागि हृतिक शोनिकले २ विकेट लिए भने दुअन यानसन, क्यामरुन ग्रिन, रिलि मिरिडेथ र पियुष चावलाको भागमा समान १-१ विकेट रह्यो । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १७ दशमलब ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईका लागि ईशान किशनले ५८ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले ४३ रन बनाए । त्यस्तै रहँदा तिलक बर्मा ३० रन बनाई आउट भए भने टिम डेभिड २४ रनमा अविजित रहे । यस्तै कप्तान रोहित शर्माले २० रन जोडे । कोलकत्ताका लागि सुयश शर्माले २ विकेट लिए भने शार्दुल ठाकुर, लकि फर्गुसन र वरुण चक्रवर्तीको भागमा समान १-१ विकेट रह्यो ।
लगातार दोस्रो जित हात पारेको मुम्बई ४ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा छ भने ५ खेलमा ४ अंक जोडेको कोलकत्ता पाँचौ स्थानमा रहेको छ । त्यसैगरी आईपीएल अन्तर्गत आइतबार नै भएको अर्को खेलमा चौथो जित निकाल्ने क्रममा राजस्थानले गुजरातलाई ३ विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा गुजरातको यो दोस्रो हार हो । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । गुजरातका लागि डेभिड मिलरले ४६ रन बनाए भने शुभमन गिलले ४५ रन जोडे । त्यस्तै अभिनव मनोहरले २७, कप्तान हार्दिक पान्ड्याले २८ र साई सुदर्शनले २० रन जोडे ।
राजस्थानका लागि एडम जाम्पा, सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान १-१ विकेट लिए । १७८ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानका लागि कप्तान सन्जु सामसनले ६० र शिमरन हिटमायरले ५६ रनको अर्धशतकीय पारी खेले भने देवदत्त पडीकलले २६ र ध्रुव जुरेलले १७ रन बनाए ।
गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिँदा नूर अहमद र हार्दिक पान्ड्याको भागमा समान १-१ विकेट रह्यो । चौथो जितसँगै राजस्थान ५ खेलमा ८ अंकका साथ जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा ६ अंक जोडेको गुजरात तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज एक खेल हुनेछ । आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नाई सुपर किंग्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।