एसिसी प्रिमियर कप आजबाट सुरु हुँदै, नेपाल मलेसियासँग भिड्दै

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ।

आज (मंगलबार) हुने खेलमा नेपाल र मलेसिया त्रिवि क्रिकेट मैदानमा र मुलपानीमा हङकङ र सिंगापुर भिड्दै छन् । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।



मुलपानी मैदानमा यस अघि विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै आएको थियो । दुवै मैदानमा हरेक दिन समान १-१ खेल हुनेछन् भने फाइनल खेल भने त्रिवि मैदानमा हुनेछ । एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार