एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज (मंगलबार) भएको पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको हो ।

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले ७६ रनको अर्धशतकीय पारी खेले भने विरन्दिप सिंहले ४६ रन बनाए । ओपनर यी दुईले दोस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरे ।



त्यस्तै खिजार ह्यायातले २२ रन बनाई आउट भए भने मोहम्मद आमिरले १७ रन जोड्दा साजरुल इद्रासले १५ रनमा अविजित रहे । यस्तै विजय उन्नी १२ मा आउट हुँदा सायद अजिजले १३ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए भने ललित नारायण राजवंसीले २ विकेट लिँदा गुल्सन झाको भागमा १ विकेट रह्यो ।

२३६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय पारी खेल्दै क्रमश: ७० र ७१ रन बनाए । यी दुईले चौथो विकेटका लागि ११२ रनको साझेदारी सानदार साझेदारी गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

मलेसियाका लागि विजय उन्नी, विरनदिप सिंह, मोहम्मद वाफिक र रिजवान हैदरले समान १-१ विकेट लिए । आज पहिलो खेलेको मलेसियासँग खेलेको नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ, तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।

बैशाख ५ देखि बैशाख १८ गते सम्म हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ । दुवै मैदानमा हरेक दिन समान १-१ खेल हुनेछन् भने फाइनल खेल भने त्रिवि मैदानमा हुनेछ । एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

 

सम्बन्धित समाचार